काठमाडौं — नेपाली राहदानी विश्वकै खराब सातको सूचीमा परेको छ। प्रयोग गरिएको कागज, सुरक्षा फिचर्स र बनोटका कारण भने नेपाली राहदानी खराबको सूचीमा परेको होइन, बिनाभिसा प्रवेश गर्न सकिने देश (यात्रा स्वतन्त्रता) संख्याको आधारमा परेको हो।
विश्वका २३ भन्दा बढी देशमा कार्यालय रहेको हेन्ली एन्ड पार्टनर्सको 'ग्लोबल भिसा रेस्ट्रिक्सन इन्डेक्स २०१३' नामक अध्ययन प्रतिवेदनमा नेपाली राहदानीलाई यात्रा गर्ने स्वतन्त्रताका दृष्टिले खराब देखाइएको छ । १ सय ९८ देश समेटिएको सूचीमा नेपाल १९२औं नम्बरमा परेको छ ।
सूचीमा रहेका देशलाई यात्रा स्वतन्त्रताका आधारमा ९३ स्थानमा विभाजन गरिएको छ जसमा नेपाल ८९औं स्थानमा परेको छ । समान अंकका साथ केही देश एउटै स्थानमा रहेकाले सूचीमा रहेका देशको संख्याभन्दा उनीहरूको स्थान कम देखिएको हो । खराब राहदानीको सूचीमा नेपाल पछाडि इरिट्रिया, प्यालेस्टाइन, पाकिस्तान, सोमालिया, इराक र अफगानिस्तान छन् ।
नेपालको अंक ३७ छ भने पहिलो स्थानमा परेको फिनल्यान्डको १ सय ७३ अंक छ ।
विश्वका २ सय १९ गन्तव्य राष्ट्रलाई आधार मानेर सूची बनाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । राहदानीमा भिसा नलगाई गन्तव्य राष्ट्र तथा भूभागमा पुग्न सकिने÷नसकिने आधारमा सूची तयार गरिएको हो ।
फिनल्यान्डका नागरिकले विश्वका १ सय ७३ देशमा राहदानीमा भिसा नलगाई पुग्न सक्छन् । अर्थात उनीहरुलाई १ सय ७३ देशले 'अनएराइएभल भिसा' उपलब्ध गराउँछन् । नेपाली नागरिक भने ३७ देशमा मात्र आफ्नो राहदानीमा भिसा नलगाई पुग्नसक्ने अध्ययनमा देखाइएको छ ।
अध्ययनमा समेटिएका २ सय १९ देश तथा भूभागमध्ये १ सय ८२ राष्ट्रमा जानुपर्दा नेपाली नागरिकले पहिल्यै भिसा लिएर मात्र नेपालबाट सम्बन्धित राष्ट्रतर्फ प्रस्थान गर्नुपर्छ ।
सूचीको फिनल्यान्डसँगै समान अंकका साथ स्विडेन र बेलायत पनि पहिलो स्थानमा छन् । दोस्रो स्थानमा समान १ सय ७२ अंकका साथ डेनमार्क, जर्मनी, लक्जेमबर्ग, र अमेरिका छन् । यस्तै, तेस्रो स्थानमा समान १ सय ७१ अंकका साथ बेल्जियम, इटाली र नेदरल्यान्ड छन् । १ सय ७० अंकका साथ क्यानडा, फ्रान्स, आयरल्यान्ड, जापान, नर्वे, पोर्चुगल र स्पेन रहेका छन् । बिनाभिसा पुग्न सकिने देश संख्यालाई नै अंक मानिएको छ ।
नेपालपछिका इरिट्रिया र प्यालेस्टाइनको ३६–३६, पाकिस्तान र सोमालियाको ३२–३२, इराकको ३१ र अफगानिस्तानको २८ अंक छ ।
सूचीअनुसार दक्षिण एसियाली (सार्क) ८ राष्ट्रमध्ये सबैभन्दा बढी यात्रा स्वतन्त्रता माल्दिभ्सका नागरिकसँग छ । ८० अंकका साथ माल्दिभ्स सूचीको ४९औं स्थानमा छ । राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, नेपाल, पाकिस्तान र अफगानिस्तान क्रमशः ७४, ७७, ८५, ८८, ८९, ९१ र ९३औं स्थानमा छन् ।
त्रिभुवन विमानस्थल बाहिर लुटेराको बिगबिगी
असोज, काठमाण्डौं । ‘ल माल झर्यो, समान ठीक पार ।’ ‘ठीक छ’ । ‘अँठ्याएर ल्या न ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष बाहिर आजभोली यस्तै भनाईहरु सुनिन्छन् । सर्वसाधारणले सजिलै बुझ्न नसक्ने यस्ता साङ्केतिक शब्दको अर्थ सुन्दा आङ नै सिरिङ्ग हुन्छ ।
विमानस्थललाई दलाली, ठगी, लुटपाट तथा विदेशी मुद्राको अवैध कारोबारको अखडा बनाउँदै आएको समूहले खाडी मुलुकबाट स्वदेश फर्किएका सर्वसाधारणलाई ‘माल’ र ‘सामान ठीक पार, अँठ्याएर ल्या’को साङ्केतिक अर्थ ट्याक्सीमा राखी लुटपाट गर्ने कार्यलाई बुझाउने गरेको गोरखापत्र दैनिकमा खबर छ ।
यतिखेर दसैं र तिहार मनाउन विदेशबाट घर र्फकनेहरुको भीड विमानस्थलमा बढ्न थालेपछि आपराधिक समूहको कमाउ धन्दा पनि फस्टाएको छ । आगमन कक्ष बाहिर लस्करै समूह/समूहमा जम्मा भएकाहरु सर्वसाधारणलाई जबरजस्ती ट्याक्सीमा राख्छन् र कुटपीट गरी लुटपाट गर्छन ।
प्रत्येक दिन कुटपिट र लुटपाटका घटना हुनु विमानस्थल क्षेत्रको नियति नै भएको छ । विमानस्थल परिसरका एक क्याफे व्यापारी भन्नुहुन्छ, विभिन्न प्रलोभन देखाएर ट्याक्सीमा बस्न लगाउँछन्, मागेजति भाडा नदिएपछि बीचबाटोमै कुटपिट र लुटपाट गरी भाग्छन् । विदेशी मुद्राको खुलेआम अवैध कारोबार गर्छन् ।
विशेष गरी यस्तो समूह दुवई र कतारबाट आउने विमानहरुको व्यग्र प्रतिक्षामा बस्ने गर्छ ।
एयर अरेबियाको दैनिक चार उडान
युनाइटेड अरब इमिरेट्स (युएई) को सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स एयर अरेबियाले शुक्रबारबाट दैनिक चार उडान गर्ने भएको छ। युएईको सारजहाँ अन्तर्राष्ट्रिय विमानस्थललाई आधार गरी एयर अरेबियाले त्यहाँबाट काठमाडौंका लागि दैनिक दुई (सातामा १४) उडान गरिरहेको थियो।
असोज ४ गतेबाट दैनिक तीन उडान गरेको यसले अब चार बनाउन लागेको हो।
'यात्रु चाप बढ्दै गएपछि दैनिक चार उडान गर्न लागेका हौं,' एयर अरेबियाकी राष्ट्रिय बिक्री प्रबन्धक संगिता रौनियारले बिहीबार नागरिकसँग भनिन्, 'उडान संख्या बढ्ने भएपछि यात्रुबाट पनि उत्साहजनक प्रतिक्रिया आएका छन् ।'
उनका अनुसार असोज २५ सम्म दैनिक चार उडान हुनेछन् । त्यसपछि ३० गतेसम्म दैनिक तीन उडान गरिने तालिका छ । त्यसपछि पुनः दैनिक चार उडान गर्ने योजना छ । दैनिक एक उडान हुँदै २०१० बाट सातामा नौ त्यसपछि १४ र गत अगस्टबाट १७ उडान गरिएको थियो ।
सन् २००३ बाट उडान सुरु गरेको एयर अरेबियासँग हाल एयरबस ए३२० मोडेलका ३३ जहाज सञ्चालनमा छन् । यसले मध्यपूर्व, उत्तर अफ्रिका, भारतीय उपमहाद्वीप, मध्य एसिया र युरोपका ८२ गन्तव्यमा उडान गरिरहेको छ । कम्पनीले युएई, मोरक्को र इजिप्ट तीन हबबाट ६७ रुटमा उडान गरिरहेको छ । यसले २७ वटा जहाज अर्डर पनि गरेको छ ।
No comments:
Post a Comment