सुनिता दनुवार, अध्यक्ष, शक्ति समूह
शक्ति समूह मानव तस्करी र महिला बेचबिखनविरुद्ध सक्रिय महिलाहरुको एउटा संस्था हो । शक्ति समूहले महिला बेचबिखनविरुद्ध अभियान चलाएकै कारण एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पुरस्कार पनि प्राप्त गरिसकेको छ । बेचबिखनमै परेका महिलाहरुले खोलेको विश्वकै पहिलो यो समूहले सन् २००४ देखि हालसम्म बेचबिखनमा परेका ६ सय बढी महिलाको उद्धार गरिसकेको जनाएको छ ।
भारतका दिल्ली, मुम्बईलगायत शहरमा नारकीय जीवन जिउ बाध्य महिलालाई उद्धार गरी यो समूहले नेपालमा पुनःस्थापना गराएको छ । त्यसैगरी बैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा यौन तथा शारीरिक शोषणमा परेर फर्काइएका महिलाको हितमा पनि यो संस्थाले काम गर्दै आएको छ । देशभित्रैका डान्सबार, मसाज सेन्टर र अन्य यौनजन्य काममा लगाइएका महिलाहरुको गतिलो साथी बनेको छ शक्ति समूह । शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारको नेतृत्वमा भएको बेचबिखन प्रभावित महिलाहरुको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबार सकिएको छ । अध्यक्ष दनुवारसँग सम्मेलनस्थलमा अनलाइनखबरका लागि ज्ञानेन्द्र खड्काले गरेको कुराकानी :
यो सम्मेलन केका लागि गर्नुभएको ?
नयाँ संविधानमा बेचविखन प्रभावित आमा र बच्चाको पहिचानसहितको अधिकार लेखिनुपर्छ भनेर यो सम्मेलन गरेका हौं । हाम्रो आवाज संविधानसभामा पुग्नुपर्छ र हाम्रा अधिकार ग्यारेन्टी गराउने गरी यो सम्मेलन गरिएको हो । त्यससँगै बेचबिखन प्रभावित महिलाहरुको समस्यालाई एकीकृत गर्नका लागि यो सम्मेलन गरिएको हो ।
सम्मेलनमा कोको सहभागी भए ?
यो सम्मेलनमा पाँच विकास क्षेत्रमा महिलाहरु सहभागी भएका छन् । यहाँ बेचबिखनबाट प्रभावित, नेपालमै डान्स रेस्टुरेन्ट र मसाज पार्लरमा काम गर्दा यौनजन्य हिंसाबाट पीडित भएका र भारतीय सहरहरुमा यौन व्यसायमा लगाएर र्फकन सफल भएका करिब ३ सय महिलाहरु यो सम्मेलनमा सहभागी छन् ।
सम्मेलनमा कस्ता मानिस सहभागी छन् ?
यसमा समाजमा पुनःस्थापित भएर विहे गरेका पनि हुनुहन्छ । कोही सुरक्षित बासस्थानमा बसिरहनुभएका पनि सहभागी छन् । कोही भने व्यवसाय गर्दै गरेका पनि सहभागी छन् ।
पीडित महिलाहरुले सम्मेलनबाट के अपेक्षा गर्ने ?
यो सम्मेलनलाई हामीले उनीहरुले भोग्नुपरेका समस्याहरु सुन्ने गतिलो माध्यम ठानेका छौं । हामी समाजमा पुनःस्थापित भइसकेकाहरु पनि उनीहरु भन्दा फरक छैनौं भन्ने प्रत्याभूति गराउने हाम्रो प्रयास रहन्छ । कतिपय पीडितहरुलाई आफ्नो पहिचान खुलाएर जाँदा गाउँमा सहयोग गर्ने निकायबारे पनि अलमल छ । त्यसबारे पनि हामी प्रष्ट्याउने कोशिस गर्नेछौं । पीडित महिलाहरुलाई साथ सहयोग दिने अरुपनि संस्थाहरुबारे सकेसम्म जानकारी दिने प्रयास हुनेछ ।
पछिल्लो समय कस्ता महिलाहरु बेचबिखनको जोखिममा कसरी परेका छन् ?
पछिल्लो अवस्था हेर्ने हो भने धेरै महिलाहरु बैदेशिक रोजगारीको नाममा बेचबिखनमा परेका छन् । आन्तरिकरुपमा पनि महिलाहरुको बेचबिखन अत्याधिक छ । काठमाडौंमै ठमेलजस्ता क्षेत्र महिला बेचबिखनका ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएका छन् । ठमेलमा चेलीबेटी जम्मा पारेर कोरिया र चीनसम्म पुर्याउने गरेको पाइएको छ । बाहिरी जिल्लाबाट काठमाडौं ल्याएर त्यसपछि अन्यत्र पठाउने गरिएको छ । भारतको गोवाबाट उद्धार गरिएका महिलाहरु लामो समयसम्म ठमेलमा काम गरेका भेटिए ।
ठमेलमा दैनिक ३ हजार कमाइ गरिरहेका महिलालाई भारतमा जाँदा दैनिक ५ हजार भारुसम्म कमाई हुने लोभमा पारेर बेचबिखन गर्ने क्रम बढेको छ । त्यही कारण ठमेल ट्रान्जिटका रुपमा विकसित हुँदै गएको छ ।
मानव बेचबिखन रोक्न सरकारको सहयोग कस्तो छ ?
सरकारी निकायले सहयोग गर्दै नगरेको होइन । तर, सरकारसँग जति स्रोतसाधन छ, त्यो अनुसारको सक्रियता भने छैन । बेचबिखनबाट पीडितका लागि सरकारले पुनःस्थापना गृह पनि चलाएको छ । दक्षिण एसियामै सबैभन्दा पहिले मानव बेचबिखनविरुद्दको कानुन नेपालले लागू गरेको छ । तर, कार्यान्यन भने नेपालकै सबैभन्दा फितलो छ । पुनःस्थापना केन्द्र चलाइएको छ तर आधारभूत मापदण्ड पनि पूरा गरिएको छैन । त्यही कारणले हामीले सरकारी निकायसँग बढीभन्दा बढी सहकार्य गरेर सरकारलाई अझ जिम्मेवार बनाउने कोशिस गरिरहेका छौं । संघ संस्थाले सरकारलाई साथ दिनेमात्र हो, सरकारलाई हामीले बलियो बनाउन सक्नुपर्छ । चेलीबेटी बेचबिखन रोक्ने अभियानमा संस्थाहरुले सरकारलाई साथमात्र दिने हो यो मामिलामा पहलकदमी सरकारले नै लिनुपर्छ । महिलालाई जोखिमयुक्त कामबाट उद्दार गरेर समाजमा लगी पुनःस्थापना गरी बाँच्न पाउने वातावरण बनाउनु सरकारको दायित्व हो ।
महिला बेचबिखनमा पर्नुमा आर्थिक अभावलाई दोष दिइन्छ । यो बाहेक अरु के कारण होलान् ?
मेरो बुझाइमा महिलाहरु यौन हिंसा र बेचबिखनमा पर्नुमा हाम्रो समाजको पितृसत्तात्मक सोच हो । आर्थिक अभाव एउटा कारण हुन सक्ला तर, हाम्रो समाजको पितृसत्तात्मक संरचना यो समस्याको मूल कारण हो ।
पितृसत्तात्मक सोचमा परिवर्तन गरेर महिलालाई पनि समान अधिकार नदिएसम्म यो समस्या समाधान हुन सक्दैन । छोराछोरी जन्मेपछि स्याहार्ने जिम्मा आमालाई मात्र थोपरिन्छ । बाबुलाई पनि उत्तिकै जिम्मेवार बनाउन सक्नुपर्छ । पुरुष र महिला दुई रथका पांग्रा हुन्, एउटा भए चल्दै चल्दैन दुईवटा भए अवश्य चल्छ । सरकारले पनि महिलालाई अवसर दिन स्वरोजगार र माथिल्लो तहमा छात्रवृत्तिको व्यवस्था गर्नसकेमा यो विभेद हट्छ । सैद्दान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिनसकेमा समस्या समाधान गर्न सकिन्छ ।
बेचबिखनमा पर्ने चेलीहरु कुन् समुदायका बढी छन् ?
बढी मात्रामा जनजाति समुदायक महिला बेचबिखनमा परेका छन् । राणाकालबाटै सिन्धुपाल्चोक, नुवाकोटमा रहेका तामाङ समुदायका महिलालाई दरबारमा ल्याएर धाइ सुसारे राख्ने नाममा शोषण गर्ने काम भएकाले त्यहाँका महिला अहिले पनि बढी बेचबिखनमा परेका छन् । तर, अहिले भने ब्राहृमण, क्षेत्री, जनजाति र दलित सबै समुदायका महिला बेचबिखनमा परेको पाइएको छ ।
शिक्षित चेलीहरु पनि बेचबिखनमा परिरहेका छन् नि ?
यो समस्या पनि व्यवहारिक ज्ञानको अभावले भएको हो । हाम्रोमा शिक्षा प्रणाली नै सैद्धान्तिक ज्ञानमा आधारित छ । व्यवहारिकरुपमा छोराछोरी समान हुन् भन्ने कुरा सिकाइन्न । बेचबिखनबाट जोगिन सचेत हुने उपायबारे ज्ञान नदिँदा शिक्षित महिला पनि बेचिएका हुन् ।
खाडी मुलुकमा जाने महिला पछिल्लो समय बढी यौनजन्य हिंसामा परेका छन् भन्ने सुनिन्छ, यो समस्यालाई कसरी समाधान गर्ने त ?
पहिलो कुरा त सरकारले नै यसलाई सम्बोधन गर्न कानुनी व्यवस्था गर्नुपर्छ । सरकारले उमेर समूह तोकेर खाडी जान महिलाहरुलाई रोक लगाएको छ । नेपालबाट जान नपाएपछि अवसरको खोजीमा जोखिम मोलेर भातर हुँदै गएका छन् । भारतबाट जाने समूहचाँहि सबैभन्दा बढी जोखिममा छ । सरकारले दुई देशबीचको समन्वयमा नयाँ नीति बनाएर यो समस्यालाई तत्काल सम्बोधन गर्न सक्नुपर्छ । महिलाहरुलाई खाडी मुलुकमा जान रोकेर समस्याको समाधान हुन्न । सरकारले कानुनी बाटो तय गरेर बैधानिकरुपमा खाडी पठाउने व्यवस्था गर्नसक्नुपर्छ ।
बेचबिखनमा परेका महिलाहरुको उमेर समूह कस्तो छ ?
नेपालबाट ८ देखि ४५ वर्षसम्मका महिलाहरु बेचबिखनमा परेको अवस्था छ । जुन कुरा साधरण अवस्थामा पत्याउन पनि मुश्किल पर्छ ।
बेचबिखनबाट पीडित महिलाको संख्या कति छ ?
बेचबिखनमा परेका महिलाहरुको एकीन संख्या कोहीसँग पनि छैन । सरकारले पनि तथ्यांक व्यवस्थित गर्न नसकेको अवस्था छ । साथी समूहले सन् २००४ देखि हालसम्म ६ सय बढी महिलाको उद्धार गरिसकेको अवस्था छ । अरु संस्थाले पनि काम गरेका छन् तर कसैसँग पनि तथ्यांक छैन ।
पीडकहरु कस्ता कस्ता छन् ?
उद्धारमा संलग्न हामी भन्दा चार कदम अगाडि दलालहरु छन् । मानव बेचबिखनमा संलग्नहरुको देशभरि सञ्जालै छ । यिनीहरुमा गाउँमा फकाउने एउटा हुन्छ, गाउँबाट काठमाडौंसम्म ल्याउने अर्को, काठमाडौंबाट भारतीय सीमानासम्म पुर्याउने फेरि अकर्ेै हुन्छ । बेचबिखनमा संलग्न मुख्य तस्कर भने भारतमा या देश बाहिर बसेको हुन्छ । प्रहरीले समाउँदा गाउँमा फकाउनेमात्र फन्दामा पर्छ । अरु सबै उम्कन्छन् ।
बेचबिखनमा परेर फर्केकाहरुको अवस्था छ ?
बैदेशिक रोजगारमा गएकाहरु ठगिएर आउँदा पनि समाजले स्वीकार्छ । तर, यौनजन्य समस्यामा परेर आएका महिलालाई समाजले स्वीकार्नै मान्दैन । यौनजन्य काममा लागेर फर्केकाहरुलाई बाबुआमाले पनि लानै मान्दैनन् । पुनःस्थापना केन्द्रमै राखेर उनीहरु पन्छिन्छन् । बेचबिखन र देशमै पनि यौनजन्य काममा लगाइएका महिलालाई अहिले पनि समाजले स्वीकार्दैन । समुदायले पनि चेलीहरुलाई नै गलत भएको ठहर्याउँछ र समाजमा र्फकनै दिँदैन । समाजमा र्फकन नपाउँदा धेरै महिलालले दुःखको भुक्तमान भोग्न बाध्य छन् ।
- See more at: http://www.onlinekhabar.com/2014/06/207509/#sthash.7vU1JKvI.dpuf