जिरीलाई नमुना सहर बनाउने तयारी
दोलखा- सहरी विकास मन्त्रालयले जिरीलाई मुलुककै 'नमुना साना सहर' बनाउन विस्तृत र दीर्घकालीन गुरुयोजना तयारी थालेको छ। दोलखाको जिरी राजधानीबाट १ सय ९० किलोमिटर दूरीमा छ।
स्विजरल्यान्डको जुरिच सहरसँग भू–बनावट मिल्ने तथा सगरमाथाको प्रवेशद्वारसमेत रहेकाले स्विस सरकारले २०१४ सालदेखि जिरीको विकासमा ढोका खोलिदिएको थियो। प्रथम सगरमाथा आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरी हुँदै सगरमाथा आरोहणमा गएका थिए। 'जिरी बहूद्देश्यीय कार्यक्रम' नै लागु गरी एक दसकको नमुना विकास र ५० वर्षसम्म लगानी गरेर स्विस सरकार फर्किएको ६ वर्षपछि नेपाल सरकार आफंै जिरीको विकासमा लागेको हो।
मन्त्रालयले भवन निर्माण तथा सहरी विकास विभागमार्फत विस्तृत अध्ययन र डिजाइन गरी परामर्शदातामार्फत गुरुयोजनाको तयारी थालिसकेको छ। परामर्शदाता सिमेका कन्सल्टले जिरी बजारको भौतिक विकास, जिरी उपत्यका वरपरका पर्यटकीय गन्तव्यको विकास तथा नमुनायोग्य पर्यटकीय केन्द्र बनाउन आवश्यक पूर्वाधारबारे अध्ययन तथा डिजाइन गर्नेछ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धुलिखेलमार्फत जिरीको विकास अभियान सञ्चालन हुनेछ। 'पहिले जिरीलाई स्विसले विकास गरेर मुलुककै नमुना बनाएको छ,' डिभिजन प्रमुख दिलीप भण्डारीले भने, 'अहिले त्यसलाई नमुना साना सहर बनाउन सरकार लागिपरेको छ।' उनका अनुसार साना सहरको सूचीमा मुलुकका १ सय ३२ वटा छन्। स्विस सरकारले बनाइदिएका जिरीका भौतिक संरचनालाई अझ आकर्षक बनाउँदै थप पूर्वाधार निर्माण गरिने भण्डारीले बताए।
गुरुयोजनामा बसपार्क, बाटो, पुल–पुलेसा निर्माण, जिरी विमानस्थल मर्मतसम्भार, चउर तथा फाँट उपयोग, पर्यटन विकास, भ्युटावर नजिकका पर्यटकीय गन्तव्यसम्म पूर्वाधार विकासलगायतका विकास कार्यक्रम समेटिने भएका छन्।
डिभिजनका इन्जिनियर सचिन्द्र देवका अनुसार परामर्शदाताले जिरीको विकासका लागि तत्काललाई १५ वटा योजना अघि सारेको छ। बाम्ती, जिरी वरपर रहेका चिज कारखाना, च्योर्देङ, गुराँसपार्क, ठूलनागीलगायत क्षेत्रसम्म सडक निर्माण र नयाँ ट्र्याक खोल्ने, सगरमाथाको प्रवेशद्वारलाई पुनः ब्युँत्याउन ओखलढुङ्गा, सोलु जाने सडक खुलाउनुपर्ने, एडमन हिलारी र तेन्जिङ नोर्गेको सालिक बनाउने योजना परामर्शदाताले सुझाएका छन्। '७ देखी १० वर्षको वृहद गुरुयोजना मंसिरसम्ममा तयार हुन्छ,' देवले भने।
डिभिजन प्रमुख भण्डारीका अनुसार जिरीको विकासका लागि मन्त्रालय आफैंले सुरुमा एक करोड रुपैयाँ लगानी गर्नेछ। दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष सोनाम शेर्पाले सरकारी निर्णयले जिरीबासीलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्।
No comments:
Post a Comment